देश

निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा हाजिर


काठमाडौँ – निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका हुन् ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सोमबार उनको विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बयान भइरहेको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए । बयानपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।