राजनीति

एमालेको माग सभामुखले सम्बोधन गर्न सक्नुहुन्न : कांग्रेस महामन्त्री


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताउनुभएको छ । महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिनुभएको हो ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘उनीहरूले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरू छन् । उनीहरूलाई निस्कासन गर्नुस्, त्यो त सभामुखले गर्न सक्नु हुन्न । यसैमा विरोध भइरहेको छ । हाम्रो धारणा के हो भने अव विधेयक आइसकेको छ । २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरू टुक्रियो । जुन विरोधमा आएको छ । त्यहीअनुसार फ्लो गर्नुपर्छ ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताउनुभयो ।