राजनीति

अध्यादेश खारेज गर्न देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमााडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्नका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।

अध्यादेश खारेजीसँगै मन्त्रिमण्डल विस्तार हुने विश्वास पनि गरिएको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश खारेजीको माग गर्दै आएका थिए । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका छन् ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संवैधानिका व्यवस्था अनुसार संसद्को अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।