राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, संसद् अधिवेशन अन्त्यको सम्भावना


काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकका लागि सम्भावित कार्यसूचीमा विनियोजन विधेयक प्रमाणिकरणका बारेमा राष्ट्रपति कार्यालयबाट आएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख गरिएको छ । तर बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०७८ र आर्थिक विधेयक २०७८ पारित भएर आएपछि भने कार्यसूचीमा पर्न सक्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधलाई निरन्तरता दिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको प्रतिनिधि सभा बैठकबाट बजेटसँग सम्बन्धित विधेयक पारितको काम सकिनेछ । त्यसैले, सरकारले संसद अधिवेशन अन्त्य गर्ने सम्भावना छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै सरकारमा सहभागी हुने जनता समाजवादी पार्टीको अडानका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हिजोको सत्ता गठबन्धनको बैठकमा यो अध्यादेश खारेज गर्ने सहमति भएपछि संसद अधिवेशन अन्त्य गर्नैपर्ने अवस्था आएको हो ।

यसअघि राष्ट्रपतिले प्रमाणिकरण गरेको राजीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभाबाट प्रक्रियामा नगएका कारण पनि सरकारले अधिवेशन अन्त्य गरी उक्त विधेयक खारेजका लागि राष्ट्रपति समक्ष फेरि सिफारिस गर्ने तयारी गरेको हो । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।