समाचार

राष्ट्रिय जनगणनामा शेर्पा लेख्न नभुलौँ : नेपाल शेर्पा संघ


पासाङ शेर्पा, काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण शुरु भएसंगै घर तथा परिवार सूचीकरण कार्यमा सात प्रश्न लिएर सुपरिवेक्षक जनताका घरदैलोमा छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरी ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ ।

यसै सन्दर्भमा नेपाल शेर्पा संघले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा विवरण भर्दा आफ्नो शेर्पा थर लेख्न नभूल्न अपिल गरेको छ । संघले १२ औँ राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नको उत्तर सही रुपमा टिपाउन र टिप्न पनि अपिल गरेको हो ।

शेर्पा संघको शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागले जनगणना–२०७८ को सन्दर्भमा प्रस्ताव पत्र पेस गरे लगतै अपिल जारी गरेको जनाएको छ । दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म हुने जनगणना लगत संकलनमा घरदैलो, टोलमा आउने गणकहरुद्धारा सोधिने प्रश्नावलीको सही जवाफ दिन समेत आग्रह गरेको छ । मूख्य बुँदाहरु ३.६, ३.७, ३.८, ३.९, र ३.१० को उत्तर ठीक–ठीक रुपमा दिन संघले आग्रह गरेको छ ।

जनगणनाबाट आउने तथ्याङले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका र प्रभाव पर्ने नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस महाअभियानमा सम्पूर्ण शेर्पा समूदायले अनिवार्य सहभागिता र सक्रियतापूर्वक भूमिका निर्वाह गर्नु नितान्त जरुरी छ । ’आफ्नो जातीय पहिचान, भाषा, धर्मबारे स्पष्ट रुपमा टिपोट गर्न संघले गरेको अनुरोधका बुदाँ यसप्रकार छन् ।


बुँदा न. ३.६– प्रश्नः जात /जाति के हो ?
उत्तरः शेर्पा
बुँदा नं.३.७– प्रश्नः पूर्खाको भाषा कुन हो ?
उत्तरः शेर्पा
बुँदा न. ३.८ – प्रश्नः मातृभाषा कुन हो ?
उत्तरः शेर्पा
बुँदा नं.३.९– प्रश्नः दोस्रो भाषा कुन हो ?
उत्तरः भोट
बुँदा नं. ३.१०– प्रश्नः धर्म कुन मान्नुहुन्छ ?
उत्तरः बौद्ध/ बुद्ध धर्म भनेर उल्लेख गर्नुपर्ने भनिएको छ

त्यस्तै कतिपय शेर्पाहरुको थर मात्रै टिपाउने गरेकोमा आगामी जनगणनामा थरसँगै शेर्पा अनिवार्य लेख्न भनिएको छ । थरसँगै जात अनिवार्य लेख्नुपर्ने हुन्छ । अन्यथा गलत हुने उल्लेख गर्दै संघका अध्यक्ष गेल्जे लामा शेर्पाले ‘कुनैको थर लामा हो भनेपनि लामा शेर्पा लेख्न लगाउनुपर्छ’ भनेका छन् । नागरिकतामा लामा मात्रै भएकाले पनि जनगणनामा शेर्पा लेख्नुपर्ने संघको सुझाव छ ।

संघले अपिलमा थप भनेको छ ‘स्थानीय जनप्रतिनिधि, शेर्पा शिक्षक कर्मचारी, राजनैतिककर्र्मी बुद्धिजिविहरुसँग सल्लाह लिनु हुन र सामाजिक अभियन्ताहरुले आफ्नो गाउँटोल, छिमेकमा यसरी नै सही तथ्यांक संकलनमा सहयोग गरी दिन समेत आग्रह गरेको छ ।

संघले जनगणनाको सन्दर्भमा विभिन्न कार्यक्रम तयार गरी अघि बढाइएको समेत जनाएको छ । कार्यक्रम अन्तर्गत केन्द्र, प्रदेश र जिल्लास्तरमा अभिमूखिकरण कार्यक्रम, सचेतना गोष्ठी, श्रव्यदृष्य सामाग्रीमार्फत व्यापक प्रचारप्रसार, रेडियोहरुमा सूचना प्रसारण, देशभर युवा स्वयम्सेवक परिचालन लगायत गर्ने तयारी गरेको शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख दावा शेर्पाले जानकारी दिनुभयो ।