राजनीति

काँग्रेसमा उत्साहजनक युवा आए : केन्द्रमा बुढाहरुकै राँईदाँई, गगन र विश्वप्रकाश जस्ता नेताले थामेनन् युवाको हात (भिडियोसहित


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा युवाहरुको वर्चश्व उत्साहजनक छ । तर वडादेखि पालिकास्तरमा युवाहरु उत्साहजनक तरिकाले नेतृत्वमा आएपनि केन्द्रीय नेतृत्व चयनमा उनीहरु निरिह नै बन्ने देखिएको छ ।

विवाद नभएका जिल्लाहरुमानिर्धारित कार्यतालिका अनुसार नै गत भदौ १८ मा नेपाली काँग्रेसले वडा अधिवेशन शुरु ग¥यो । पहिलो लटमै दैलेखको दुल्लु नगरपालिका–३ की १९ बर्षीया स्वस्तिकाकुमारी महतले वडासभापति जितिन् । महतको विजय काँग्रेसमा युवाहरुको आगमनबारे सुःखद मानियो र देशभर चर्चाको विषय पनि बन्यो । काँग्रेसका केन्द्रीय नेताहरुबाटै यसको स्वागत गरियो ।

उस्तै विजयी सोलुखुम्बुकी पूजा फुयालको पनि भयो । २१ बर्षीया पूजा सबैभन्दा धेरै मत ल्याएर सबैभन्दा कम उमेरको क्षेत्रिय प्रतिनिधिका रुपमा विजयी भइन ।शनिबारमात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धूराको परशुराम नगरपालिकामा २८ बर्षीय भरत जोशी नगरपालिका सभापति निर्वाचित भए । दुई सय मतमध्ये १४८ मतका साथ विजयी भएका जोशीको जितले युवा आगमनमात्रै होइन, युवालाई मतदाताले रुचाएको पनि देखाउँछ । तर देशका धेरै स्थानमा लोभलाग्दो मतका साथ क्षेत्रिय प्रतिनिधिमा चयन युवाहरुको जमात महाधिवेशन प्रतिनिधिसम्म पुग्ने सम्भावनाको खोजि हुन थालेको छ । किनकि काँग्रेस बुढापाकाहरुको पार्टी हो भन्ने मान्यतालाई चिर्दै वडा तहबाटै युवाहरुले आफ्नो अस्तित्वजबरजस्त फैलाउँदै लगेका छन् ।तर महाधिवेशन प्रतिनिधि भएर नेतृत्व चयनमा भनेउनीहरुको सहभागितालाईकमजोर आँकिएको छ ।

वडाबाट क्षेत्रिय प्रतिनिधि चयन भएकाहरु अव हुने प्रतिनिधिसभाको क्षेत्रिय अधिवेशनमा विजयी हुँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचितहुनुपर्नेछ । त्यसले मात्रै केन्द्रीय नेतृत्वलाई मतदान गर्न पाउनेछ ।कतिपय स्थानमा वडा र पालिकामै युवाहरुलाई थन्क्याएर महाधिवेशन प्रतिनिधिमा बुढाहरु अघि सरेका छन् । त्यसैले अहिले जितेका युवाहरु क्षेत्रिय अधिवेशन जितेर केन्द्रमा आउने सम्भावना न्यून देखिन्छ । केन्द्रमा युवा सहभागिता बारेको आवाज मुख्यतः कल्याण गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, चन्द्र भण्डारी, प्रदीप पौडेल र गुरुराज घिमिरेलगायतका युवाहरुले उठाउँदै आएका छन् । तर तल्लोतहबाटै युवाहरु ल्याउन सामुहिक पक्षधरता निर्माण गर्न उनीहरु असफल छन् ।बरु केन्द्रमा युवालाई निर्णायक बनाउनुपर्ने जिम्मेवारीमा रहेका उनीहरु उनै बुढा नेताको पछी लागेर आफु र आफ्नो पद सुरक्षीत बनाइरहेका छन् ।

युवाहरुको नेतृत्व गर्दै पार्टीको नेतृत्वसम्म हत्याउने विश्वास गरिएका नेता हुन् गगन थापा, तर कृष्णप्रसाद सिटौला समुहमा असुरक्षित हुने आँकिएपछि अहिले रामचन्द्र पौडेल पक्ष, त्यसमा पनि सभापतिको आकंक्षी बनेका शेखर कोइरालाको साथमा अघि बढीरहेका छन् । अर्का उस्तै प्रभावशाली नेताका रुपमा विश्वप्रकाश शर्मालाई चिनिन्छ । संस्थापन पक्षमै क्रियाशिल रहेपनि महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दादेउवाले उचित हौसला नदिएपछि उपसभापति तथा आगामी महाधिवेशनबाट सभापतिमा उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधिसंग अघि बढ्ने चर्चा पनि छ ।यी युवा नेताहरुलाई १४ औं महाधिवेशनमा मुल नेतृत्वमै दाबी गर्ने विश्वास गरिएको थियो । तर कल्याण गुरुङबाहेका कुनै युवाले सभापतिमा भिड्ने आट गर्न सकेनन् । जसले आगामी नेतृत्व पुनः ७० बर्षमाथिकै हातमा पुग्न निश्चित छ ।

दशकौंदेखि केन्द्रीय समितिमा रहेका नेता कांग्रेसकै तल्ला तहका अधिवेशनमा चुनाव लड्न डराउँछन् । बरुविधानमा स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनेव्यवस्थाको फाइदा लिएर राजनीति बचाइरहेका छन् । उनीहरु न युवाहरुको सहभागितामा उत्साह जनाउन सक्छन्, न नेतृत्वका दाबी गर्छन । बरु बुढाहरुसंगै बाग्रेनिङ गरेर राजनीतिक गर्जाे टारिरहेका छन् ।