समाचार

सीमा नाका खुलाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयनमा आएन (भिडियोसहित)


काठमाडौँ – नेपाल सरकार मन्त्री परिषद्को बैठकले देशैभरका नेपाल–भारत सीमानाका खुला गर्ने निर्णय गरे पनि अहिलेसम्म नाकाहरु खोलिएका छैनन् । जसका कारण सवारीसाधन लिएर नाका पार गर्न पुगेका नेपाली र भारतीय नागरिकहरुलाई सीमाबाटै फर्किन पर्ने बाध्यता छ ।

 पाँच दिन अघि नेपाल सरकारको मन्त्री परिषद्को बैठकले भारतमा बढदै गरेको कोरोना प्रभावका कारण बन्द रहेको सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । तर मन्त्रीपरिषदले गरेको निर्णय अहिलेसम्म कार्यान्वयनमा भने आएको छैन । गत वर्षको चैत्र मसान्तदेखि बन्द गरिएका सबै नाकाहरु खुल्ला भएको निर्णय आएपछि सीमा क्षेत्रमा बसोवास गर्ने दुवैदेशका सर्वसाधारण नागरिकहरु खुसि भएका थिए । तर ५ दिन बितिसक्दा पनि कार्यान्वयन नहुँदा यहाँका जनताहरु फेरी निराश भएका हुन् ।

सीमानाकामा खटिएका दुबै देशका सुरक्षाकर्मीहरुले सरकारको निर्णय आफुहरुले पनि सुनेको तथा पत्रपत्रिकाहरुमा पढेको बताएका छन् ,तर माथिल्लो निकायबाट लिखित जानकारी तथा आदेश आइ नसकेकोले बोर्डर बन्द यथावत रहेको बताएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने सरकारले जारी गरेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि प्रोटोकल फलोअप गरि आवतजावत गर्न अनुमती दिएको बताएका छन् । सरोकारवालाहरुको बैठक बसेर आवागमन थप सहज बनाउने तयारी भइसकेको प्रजिअ महतोको भनाई छ ।

काम विशेषले सर्लाहीको मलंगवा नाका हुँदै गाडी लिएर भारतको सितामढी ,पटना लगायतका ठाउँमा जान दशगजामा पुग्ने यात्रुहरुलाई नाकामा खटिएका सशस्त्र प्रहरीले जिल्ला भन्सार कार्यालयबाटै फिर्ता पठाउने गरेका छन् । भारतीय सुरक्षाकर्मीले पनि भारततर्फबाट जिप, मोटरसाइकल र अटो रिक्सा लिएर नेपालतर्फ आउने नागरिकहरुलाई दशगजाबाटै फर्काइ दिने गरेका छन्  । सीमा खुला हुने आशमा यहााका स्थानीय व्यापारीहरु पनि खुसी बनेका थिए । चाडपर्व नजिकिदै गर्दा पनि सीमा बन्द भएकै कारण व्यवापार गर्न नपाएपछि व्यवसायीहरु चिन्तीत छन् ।

सरकारी निर्णयको कार्यान्वयन नहुँदा पेट्रोलियम पदार्थ ,आलुप्याज लगायत अन्य सामाग्री बोक्ने ट्रक , पिकअप बाहेकका सवारीसाधनलाई चल्न दिएका छैनन् । भारतबाट आउने त्यस्ता मालवाहक ठूला सवारी साधनहरुलाई भने दिनहुँ जसो नेपाल प्रवेश गर्न दिइएको छ । सीमानाका अहिले पार्किङ स्थल बनेको छ ।