राजनीति

नेपालका शीर्ष नेताहरुको लाजमर्दाे तुच्छ भाषा, किन गर्छन् गाली बेइज्जती ?


काठमाडौँ – आज भोली राजनीतिक दलका शीर्ष नेताहरू सार्वजनिक मञ्चमा मर्यादित र आक्रोशरहित रूपमा प्रस्तुत हुनै छोडेका छन् । उनीहरु गालीबेइज्जतीलाई असहमति प्रकटको माध्यम बनाइरहेका छन् । अनेक तरिकाले शब्दजाल बुनेर दर्शक श्रोतालाई बिलखबन्दमा पार्नेगरि शिर्ष नेताहरु हिजोआज सार्वजनिक गाली बेइज्जतीमा उत्रिने गरेका छन् । जसमध्येका एक खप्पीस पात्र हुन्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

एमालेबाट भर्खरैमात्र विभाजित बनेर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपालप्रति ओलीले तल्लोस्तरमा झरेर लाज पचेको भन्ने अभिव्यक्ति दिएका थिए । कुरा यहीँ रोकिदैन, विहिबार माधव नेपाललाई सोझै ताकेर बोलेका ओलीले माधवले विकाउ मालखोजिरहेको टिप्पनी गरे । यो भन्दा अघि पनि ओलीले नेपाललाई गद्दार, देशदोह्री, राक्षस, के जातिलाई ध्यू नपचेको, हरियाँ साप, कुहिएको फर्सिहुँदै उम्रिन नसकेको प्यूसो र कुहिएर झरेको पातसम्म बनाएका छन् ।

राजनीति, समाज र सभ्यताको दोहोलो काढ्दै गालीगलौजमा केपी ओली मात्रै उत्रिदैनन् । उनले गालीबेइज्जती गरिरहने माधव नेपाल पनि बेलाबेला सन्कीन्छन् । उनले अहिलेसम्म ओलीलाई दम्भी, अहंकारी, घमण्डी, निरकुंश, विखण्डकारी र गफाडी जस्तो भाषा प्रयोग गरेका छन् । उस्तै अर्का खप्पीस पात्र हुन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तत्कालिन नेकपाको विभाजनदेखि माधव नेपाललाई फरक पार्टी बनाउनसम्म सघाएको बताउने प्रचण्डको मुखबाट मुलतः केपी ओलीका लागि गालीको बर्षा हुन्छ । अहिले त ओलीको टाउको फोड्नेसम्मको अभिव्यक्ति दिएर कार्यकर्तालाई उत्तेजक पार्ने काम पनि गरेका छन् ।

यी दुबै नेतामा एकअर्काको गालीगलौज सुन्ने र तत्काल जवाफ फर्काइहाल्ने गजवको खुबी पनि छ । यसअघि पनि नाटकै हो÷नौटंकी नै हो, भन्ने उनीहरुका अभिव्यक्ति यत्रतत्र सर्वत्र थियो । अहिले प्रचण्डलाई ओलीले भैसी र भेडाभन्दा काम नलाग्ने मान्छे, छट्टु, राक्षस र धोकेबाजसम्म भनिरहेका छन् भने प्रचण्ड पनि भ्रष्ट, जाली, झेली र छलीसम्म भनिरहेका छन् ।

घृणायुक्त शब्दहरूको सहारा लिने र विषयलाई उत्तेजित बनाउने सवालमा शिर्ष नेताको सिको तल्लो तहका नेताहरुमा बढीरहेको छ । प्रचण्डले नाम लिदाँ पनि एलर्जी हुन्छ भनेपछि उनका पूर्व सहकर्मी रामबहादुर थापाले आफु भिड्न तयार रहेको जवाफ फर्काए । माधवलाई कुहिएको पात भन्ने ओलीको भाषाशैली उनकै पार्टीमा तल्लो तहका नेताहरु पनि प्रयोग गरिरहेका छन् ।

घृणा र आक्रोशयुक्त वाणीको प्रयोग गर्ने र अनेकन तुच्छ बिम्बहरूमार्फत विरोधीमाथि खनिने नेताहरूको शैलीले सभ्य, भद्र र भाषिक मर्यादाको अस्तित्व नै हराउँदै गएको छ ।

मर्यादित, भद्र र शालीन रूपमा पनि आफ्नो असहमति वा फरक मत राख्न सकिन्छ भन्ने ध्यान नेताहरुमा छैन । फलतःराजनीतिक दलका नेताहरूले सार्वजनिक अभिव्यक्तिबाट भाषाको मर्यादा मात्रै उडाएका छैनन्, आफ्नै ओज पनि गुमाइरहेका छन् ।