राजनीति

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन पाश, आजै महासचिवको टुंगो लाग्ने


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँचवटा समूह बनाइ समुहगत छलफल गरेर पारित गरिएको हो ।

हिजोको बैठकमा पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको र त्यसमध्ये कुनै एकलाई चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । आज बस्ने बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्ने छ । महासचिवमा वेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, डा.विजय पौडेललगायतका नेताहरुको मुख्य दावेदारी रहेको छ ।