राजनीति

सत्तारुढ गठबन्धनमा अझै मिलने भागबण्डा, मन्त्री परिषद् विस्तारमा समस्या


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । हिजो बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अव ढिला नहुने जानकारी गराए । तर, प्रचण्डले यस्तो बताईरहदा सत्तारुढ गठबन्धनमा भने अझै भागबण्डा मिल्न सकेको छैन । हिजो मन्त्रालय बाँडफाँडका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए । तर, गठबन्धन आबद्धमध्येकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताएका थिए ।

त्यस्तै गठबन्धन आबद्ध अर्को दल जनता समाजवादी पार्टीले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएपछि देउवा प्रधानमन्त्री भएको ७३ दिन भईसक्दा पनि मन्त्री परिषद् विस्तारमा समस्या देखिएको छ । हिजो सहमति जुट्न नसकेपछि आज अपह्रान्न पनि गठबन्धनको बैठक बस्दैछ । र, आज पनि सहमति जुट्नेमा आशंका छ ।

नेपाली कांग्रेसको भागमा ७, माओवादीको भागमा ६, एकीकृत समाजवादीको भागमा ५, जनता समाजवादी पार्टीको भागमा ४ र ३ राज्यमन्त्री सहित २५ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नु पर्ने छ । जसमा कांग्रेका ५ जना र माओवादीका गरेर ७ जना मन्त्रिमण्डल विस्ता भईसकेको छ । शिक्षा, सञ्चार, भौतिक पूर्वाधार, उद्योग मन्त्रालयलगायतका ठूला मन्त्रालयमा कुरा मिल्न सकेको छैन । सबै दलहरुले ठूलाठूला मन्त्रालय रोज्दा गठबन्धनमा सहमति जुट्न समस्या भएको देखिन्छ । राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।