काठमाडौँ – हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ ।
जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुआत गरिएको जानकारी दिए । उनले भने, ‘गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन् । गणना कार्य जारी छ ।’
यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार लगायतको गणना हुने भएको छ । सुपरिवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपंक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने र फाराम भर्ने जनाइएको छ ।
उनले भने, ‘हुम्ला भौगोलिक हिसाबले विकट त छँदैथियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ ।’
भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उनले गुनासो गरे । उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिलेसम्म सिमकोट गाउँपालिकामा खटिएका एक र नाम्खा गाउँपालिका खटिएका एक गरी दुईजनासँग मात्रै सम्पर्क भइरहेको छ ।’
विसं २०६८ को जनगणनाअनुसार जिल्लाभर घरपरिवारको सङ्ख्या नौ हजार ४७९ र जनसङ्ख्या ५० हजार ८५८ रहेको थियो।
प्रतिक्रिया