राजनीति

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, मन्त्री छनोटबारे छलफल हुने


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बोलाउनुभएको हो ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आगामी महाधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको देउवा निकट एक नेताले जानकारी दिए । यसअघि सत्ता गठबन्धनको बैठकमा नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएर संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन पठाउने देउवाको प्रस्तावमा सहमति भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सहमति विनै मन्त्रीको विषयमा निर्णय गरेको भन्दै आलोचना गरेको छ ।

सरकारमा कांग्रेसबाट बालकृष्ण खाण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री हुनुहुन्छ । यस्तै उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुनुहुन्छ । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री रहनुभएको छ ।