समाचार

मेयर माथि आक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन बुटवल एमालेको आग्रह



काठमाडौँ –नेकपा एमाले बुटवल उपमहानगर कमिटीले प्राविधिकसहित ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन आग्रह गरेको छ ।

पहिरोको अवलोकन गर्न गएका मेयर सुवेदीमाथि भएको आक्रमणको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा चलाउन दबाब नदिने बताएका हुन् ।

स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमबार मुक्का हानेपछि सबैतिरबाट घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै उनी पक्राउ परेका छन् ।

चुरेको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गर्दै पन्थीले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको पहुँचमा नभएकाले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताए ।

भदौ १३ र असोज ४ गते गएको चुरे पहिरोले बुटवलमा दुई दर्जन घर पुरिएका छन् भने दर्जनौं विस्थापित भएका छन् ।