राजनीति

प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल विस्तारमा को बन्यो बाधक ?



काठमाडौँ –असोज २ गतेको एउटा सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज ४ गते पछि सरकार विस्तार हुने दावी गरेका थिए । हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको भन्दै दाहालले ४ गते पछि सरकार विस्तार हुनेमा कुनै संका नभएको ठोकुवा गरेका थिए ।

सत्ता गठबन्धनको प्रमुख दल माओवादीका अध्यक्ष दाहालको भनाईलाई अर्को दल जनता समाजवादीले चुनौति दिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिमण्डल बिस्तार नहुने भन्दै दाहाललाई चुनौति दिएका हुन् ।

सरकारमा कसकसलाई पठाउने भन्ने विवादका कारण जसपाका अध्यक्ष यादव अध्यादेश खारेजीको पर्खाइमा बसेका हुन् । मन्त्री बन्न नपाएका सांसदहरुले पार्टी फुटाइदिन सक्ने भएकाले उनले पहिला उक्त अध्यादेश खारेज गर्न माग गर्दै आएका छन् ।

प्रधानमन्त्रीमा देउवालाई मतदान गरेका दलहरुबीच नै विमति हुँदा मन्त्रीमण्डल विस्तार हुन नसकेका हो । एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी निर्माण गरेका माधवकुमार नेपालले पनि मन्त्रीमण्डल विस्तार छिटै हुने बताउँदै आएका छन् । स्वयम प्रधानमन्त्री देउवाले पनि छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि मन्त्रिपरिषद्ले पूर्णता कहिले पाउँछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा देउवाको छोटो जवाफ दिए छिट्टै हुन्छ भनेका थिए ।

प्रधानमन्त्रीको शपथ लिएको ६९ दिन भइसक्दासम्म पनि मन्त्रीमण्डल विस्तार नहुँदा देउवाले भनेको छिटै कहिले हो भनेर यसै भन्न सकिने अवस्था छैन ।