काठमाडौँ – ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि नेपाल आई पुग्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न ओमान गएको टोलीले दुई खेलमा जित र दुई खेलमा हार व्योहोर्दै स्वदेस फर्कीन लागेको हो । ओमान भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको विश्लेषण भैरहेको छ । आईसिसि विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग आइतबार ऐतिहासिक जित निकाल्यो । यस अघि सिरिजका सबै भेटमा नतिजा गुमाएको नेपालले घरेलु टोलीमाथि ७ विकेटको फराकीलो जित निकाल्यो ।
त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो । भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखियो । कप्तान ज्ञानेन्द्र मल्ल सहित आसिफ शेख, कुशल भुर्तेल जस्ता युवा खेलाडीले सम्झन लायक प्रदर्शन गरे । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित पनि ग¥यो । कप्तान ज्ञानेन्द्रले आफ्नो एक दिवसीय करियरको चौथो अर्धशतक पनि पूरा गरे । उनी चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान भए । युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुसी भएको प्रतिक्रिया दिए । पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए ।
उता प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने अनुभव सुनाए । ह्वाटमोले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट संघले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरु आयोजना गरेर अनुभव दिनुपर्ने सुझाब नेपाल क्रिकेट संघलाई दिएका छन् । भएको क्षमता भन्दा माथि उठन्का लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको औंल्याए ।
ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौं खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । ८ खेलबाट ८ अंक नै जोडेको नेपाल भन्दा माथि शीर्ष स्थामा १३ खेलबाट २० अंक जोडेको ओमान रहेको छ ।
दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अंक बनाएको स्कटल्यान्ड अटाएको छ । नामिबिया, युएई र पपुवा न्युगिनी क्रमश पाँचौ, छैठौं र सातौ स्थानमा रहेका छन् । लिग–२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।
प्रतिक्रिया