राजनीति

एमसीसी र मोदीविरुद्ध टिकाटिप्पणी गर्नेमाथि कुनै कारवाही नगर्न सर्वोच्चको आदेश


काठमाडौँ – सर्वोच्च अदालतले एमसीसी र भारतसंगको सम्बन्धका विषयमा नकारात्मक टिप्पणी गर्नेहरुमाथि कारवाही नगर्ने अन्तरिम आदेश दिएको छ । एमसीसी र भारतसँगको सम्बन्धका विषयमा नकारात्मक टिप्पणी भएको भन्दै मित्रराष्ट्रविरुद्ध गतिविधि गर्नेमाथि कारवाहीको चेतावनी दिने गृहमन्त्रालयको विज्ञप्तिका आधारमा कसैमाथि कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले भदौ १८ गतेको गृहमन्त्रालयको विज्ञप्तिको आधारमा कसैलाई कारवाही नगर्नू नगराउनू भनी आदेश दिएको हो । संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यसअन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी पर्ने हुँदा कसैलाई कारवाही नगर्न अदालतले आदेश दिएको छ ।

गृहमन्त्रालयका दुईवटा विज्ञप्तिले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै नेपालको लागि नेपाली पार्टीको तर्फबाट अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।