राजनीति

हाम्रो नेतृत्वमा प्रदेश १ र वाग्मतीमा सरकार बन्दैछ : माधव नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा छिट्टै सरकार बन्ने बताउनुभएको छ । सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताउनुभएको हो ।

उहाँले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको पनि बताउनुभयो । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएको उल्लेख गर्दै उहाँले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गर्नुभयो । “१ र ३ नम्बर प्रदेश (वाग्मती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु,” उहाँले भन्नुभयो ।

त्यस्तै उहाँले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरूको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसद्मा उफ्रिएको टिप्पणी समेत गर्नुभयो ।