राजनीति

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलाइ हुनु लज्जास्पद : बाबुराम भट्टराई


काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतिघरमा सुरु गरेको दबाबमुलक धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष वितिसक्दा पनि काम सम्पन्न हुन नसक्नु लज्जास्पद र बिडम्बनापूर्ण भएको बताउनुभएको हो ।

उहाँले आफु प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा पारी बुढीगण्डकी विकास समिति बनाएर अन्र्तराष्ट्रिय संस्थामार्फत् डिपीआर बनाउने र यसको विस्तृत परियोजना अनुरुप कार्यान्वयन गर्ने प्रक्रिया र मुआब्जा वितरण गर्ने प्रक्रिया शुरु भएको भएपनि विचौलियाका कारण हालसम्म काम सम्पन्न नहुनु दुखद भएको बताउनुभयो । सो ठाउँका जनताले उठाएको मुआब्जा लगायतको समस्या समाधान गर्न उहाँले सरकार सँग माग गर्नुभयो ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना प्रभावितहरुले राखेको विभिन्न मागहरु पुरा गर्न सरकार जिम्मेवार नभएको भन्दै आजदेखि काठमाडौंस्थित माइतिघर मण्डलामा दबाबमुलक धर्ना सुरु गरेका छन् ।