देश

आजदेखि नयाँ नोट साट्न पाउने


काठमाडौँ – नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका छन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।