राजनीति

जनताका प्रतिनिधिले बनाएको संविधानमा जनताले के पाए ? (भिडियोसहित)


काठमाडौँ – संविधान निर्माण भएर कार्यन्वयनमा आएको ६ वर्ष पूरा भएको छ । तर, पनि विभिन्न राजनीतिक दल र सिमित जनताहरु भने संविधानबाट खुशी हुन सकेका छैनन् ।

जनताका लागि बनाइएको संविधान जनचाहनाअनुरुप कार्यान्वयन नभइदिँदा संविधान र राजनीतिक दलका नेताहरुप्रति सर्वसाधारण रुष्ट देखिन्छन् ।

संविधानले जाति, क्षेत्र, लिंग र समुदायलाई समान अधिकार दिएको भन्दै देशभर उत्सव मनाइदै आइएको छ । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीतालाई संविधानका खम्बा भनेर व्याख्या गरिएको थियो। तर, ७ वर्ष नपुग्दै संविधानले कल्पना गरेभन्दा विपरीतका दृश्य देखिन थालेका छन्। संविधानले एकात्मक व्यवस्था फेरियो । तर, नेता र नेतृत्वमा संस्कार फेरिएन। नेताहरू आन्दोलनको नेतृत्व गर्न सफल भए । तर, परिवर्तनलाई संस्थागत गर्न चुकिरहेका छन्। जसकारण सर्वसाधारण निराश बनेका छन् ।

सातौँ संविधान दिवसको अवसरमा टुँडिखेलमा भव्य कार्यक्रम भइरहँदा बाहिर आम सर्वसाधारण भने असन्तुष्ट देखिए । बाहिरबाटै संविधान दिवसको कार्यक्रम नियालीरहेका आम सर्वसाधारणहरुको एउटै स्वर थियो, संविधान जनतालाई सर्वोच्च बनाउन होइन, नेता सर्वोच्च बन्नका लागि रहेछ ।

आम सर्वसाधारणहरुले जनताले अपेक्षा गरेको १ प्रतिशत चाहना पनि संविधानबाट पूरा हुन नसकेको बताए । आम सर्वसाधारणहरुले अहिलेको संविधानबाट नेपाली जनताले कानूनी राज्य भएको महशुष नै नभएको बताउछन् । अहिले नेपालमा विभेदको राजनीति मात्र भइरहेको सर्वसाधारणको गुनासो छ । आम सर्वसधारणहरुले जनताका लागि बनाइएको संविधान नेताहरुले आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरेको बताएका छन् ।

संविधान बनाउने नेताहरुको नियत नै ठीक नभएको भन्दै आम सर्वसाधारणहरु नेपालका राजनीतिक दलहरुप्रति रुष्ट बनेकोप्रष्ट हुन्छ । संविधानभन्दा माथि नेताहरु भएको भन्दै जनताले नेताहरुले आफ्नो स्वार्थ र विदेशी मालिकहरुलाई रिझाउनका लागि संविधानको धज्जी उडाइरहेको बताए। उनीहरुले नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भनेर राजतन्त्र फालेकाहरु अहिले आफैँ सामन्ती र निरंकुश बनिरहेको आरोप बताए ।

संविधान बनेको ६ वर्ष पूरा भएर ७ वर्षमा लाग्दा समेत जनताले देशमा संविधान हुनुको अनुभूति गर्न नपाएको सर्वसाधारणहरुको भनाइ छ । संविधान जारी भएपछि उपलब्धि नभएका होइन । धेर थोर भएका छन् । तर,नागरिकका सपना र तीव्र आकांक्षा अनुसार सुशासन, विकास र समृद्धि लगायत कुनै पनि तहका सरकारले अपेक्षित रूपमा काम गर्न नसक्दा जनतामा निराशा छाएको छ ।