काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
नेपालको प्लेइङ सेटमा आज दुई खेलाडी परिवर्तन गरिएको छ । ब्याटिङमा फ्लप कुशल मल्ल र अघिल्लो खेलमा अमेरिकाविरुद्ध डेब्यू गरेका गुल्शन झा आज बेन्चमा छन् भने उनीहरुको स्थानमा शरद भेष्वाकर र आरिफ शेख पहिलो रोजाईँमा खेल्दैछन् ।
शरद र आरिफले ओमानमा लिग २ सिरिजमा पहिलो खेल खेल्न लागेका हुन् । आरिफ र शरद दुवैले लिग २ को सिरिजअघि पपुवा न्यु गिनी विरुद्धको पहिलो खेल खेलेका थिए । त्यसपछि पपुवा न्यु गिनी विरुद्धको दोस्रो खेल र लिग २ को ३ खेल गरी चार खेलमा बेन्चमै रहे ।
सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि ओमानसँग र अमेरिकाँग भने हार बेहोर्यो । मुख्य प्रशिक्षक डेभ वाटमोरको लागि यो नै नेपाली टिमसँग अन्तिम खेल रहेकोले जितसहित उनलाई बिदाई गर्ने नेपालको लक्ष्य छ ।
ओडिआईमा नेपालले अहिलेसम्म ओमानसँग ३ खेल खेलेको छ । तर तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।
प्रतिक्रिया