राजनीति

१४ औँ महाधिवेशन धाँधलीरहित बनाउन प्रकाशमान सिंहको आग्रह


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा नेता सिंहले क्रियाशील सदस्यतामा देखिएको विवादलाई पार्टीको विधान र नियम संगत रुपले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सिंहले निर्वाचन समिति निष्पक्ष हुनुपर्ने र निर्वाचन समितिले गरेका काम पनि निष्पक्ष देखिनुपर्नेमा जोड दिनुभयो । विवाद भएको ठाउँमा स्थगन गरेर प्रक्रिया पुरा भएको ठाउँको अधिवेशन गर्ने पार्टीको निर्णय अनुसार अधिवेशन नगरेमा अलोकतान्त्रिक गतिविधि बढ्ने भन्दै उहाँले अधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन पार्टी सभापतिले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेता सिंहले गठबन्धनका अन्य दलले आन्तरिक व्यवस्थापन समयमै गर्न नसकेका कारण सरकार बिस्तारमा ढिलाई भएको बताउनुभयो ।