काठमाडौँ – नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षामा व्यस्त छिन् । अभिनेत्री करिश्मा मानन्धर अहिले फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी छिन् । करिश्माले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै व्यापार व्यवसायमा समेत हात हालेकी छिन् ।
परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।
शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । करिश्मालाई यो फोन थियो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ।
ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक संवादमा पनि उल्लेख गरेकी छिन् । ‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’
सुरुमा ओली बोलेको भनेर करिश्मालाई विश्वास लागेन । अनि ओलीले डुंगाको कथा सुनाए । यो कथा सुनेर मात्र आफूलाई ओली भन्ने लागेको सन्दर्भ पनि करिश्माले उल्लेख गरेकी छिन् ।
‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’ करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेय गरेकी छिन् ।
प्रतिक्रिया