राजनीति

संयुक्त राष्ट्रसंघको महासभामा लथालिङ्ग : साँझा परराष्ट्र नीति नभएको विज्ञहरुको गुनासो (भिडियोसहित)


काठमाडौँ – राजनीतिक अस्थिरतासँगै नेपालको परराष्ट्र नीति लथालिङ्ग बनेकोप्रति परराष्ट्र मामिलाका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

दलहरुले साँझा परराष्ट्र नीति अवलम्बन गर्न नसकेकै कारण संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा नेपालको उपस्थिति फितलो हुने निश्चित छ ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभा न्यूयोर्कमा सुरु भएको छ । १४ सेप्टेम्बरबाट सुरु भएको महासभामा विश्वका १ सय ९३ सदस्य राष्ट्रहरुले प्रत्यक्ष रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्नेछन् । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको साइडलाइनमा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुबीच पनि अनौपचारिक बैठक गर्ने परम्परा छ ।

सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले गत वर्ष तत्कालिन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अध्यक्षतामा कोरोनाका कारण भर्जुअल रुपमा साइडलाइन बैठक आयोजना गरिएको थियो । सार्क सदस्य राष्ट्र अफगानिस्तानमा नयाँ सरकारको उदय र जारी द्धन्दका साथै अध्यक्ष राष्ट्र नेपालको कुटनीतिक हेलचेक्राईका कारण यसवर्ष साइडलाइनमा वैठक नहुने निश्चित जस्तै छ । भारतले भने यस विषयमा अध्यक्ष राष्ट्रबाट कुनै जानकारी नपाएको स्पष्ट पारेको छ ।

सार्कको अध्यक्षता गरिरहेको नेपाल आफै आन्तरिक राजनीतिक किचलोमा अल्झिएको छ । नयाँ सरकार गठन भएको झन्डै दुई महिना पुग्दा पनि मन्त्रीमण्डल विस्तार गर्न नसक्दा परराष्ट्र मन्त्रालय आफै विभागीय मन्त्री विहिन छ । परराष्ट्र मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हालिरहेका छन । महासभामा नेपालले आगामी शनिबार सम्बोधन गर्ने कार्यतालिका छ । तर प्रत्यक्ष सहभागी हुने वा भर्चुवल रुपमा को कसरी सहभागी हुने अझै पत्तो छैन ।

स्थायी सरकार स्थापनापछि विश्वका सबै मुलुकको दृष्टिमा परेको नेपाल पछिल्लो समय छिमेकी मुलुकहरुको समेत वेवास्तमा परेको छ । मुलुकको राजनीतिक अवस्थामा संकट सृजना हुँदा अन्तराष्ट्रिय मामिला तथा कुटनीतिक पक्ष सवल र सक्षमता देखाउनु पर्नेमा नेपाल झन नाजुक अवस्थामा पुगेको विज्ञहरुको भनाई छ । राजनीतिक दल र नेताहरुको स्वार्थका कारण मुलुकको परराष्ट्र मामिला अझ संकटमा परेको उनीहरुको तर्क छ ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण दक्षिण एसियाली सहयोग संगठन (सार्क) ‘कोमा’ मा छ भन्दा फरक पर्दैन । यस्तो अवस्थामा सार्कलाई नतिजामुखी र प्रभावकारी क्षेत्रिय संस्था बनाउन सहज पक्कै छैन । अफानिस्तानमा नयाँ सरकारको उदयसँगै जारी ७६ औं संयुतm राष्ट्रसंघको महासभामा सार्कको सदस्य राष्ट्र अफगानिस्तानलाई अमेरिकाले प्रवेश नदिने त होइन ?

सार्कको सदस्य समेत रहेकाले अफगानिस्तानप्रति नेपालको धारणा के छ ? नेपालले अब सार्कलाई कसरी अगाडि बढाउँछ भन्ने तर्फ पनि सबैको चासो छ । यसतर्फ नेपालको ध्यानकर्षण मात्र नभई अन्तराष्ट्रिय तथा क्षेत्रिय राजनीतिमा प्रभाव जमाउन प्रभावकारी कुटनीतिक कौशलता देखाउनतर्फ ध्यान दिने हो की ।