समाचार

चाडपर्वका लागि खुले ‘सुपथ मूल्य पसल’, यस्तो छ सामानको मूल्य सूची

कुन कुन ठाउँमा उपलब्ध छ त ?


काठमाडौँ – सरकारले हरेक वर्षझैँ यस वर्ष पनि दसैँ, तिहार, छठ जस्ता चाडपर्व लक्षितसुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । विगतका वर्षहरुमा झैं यसवर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ड्रेडिङ कर्पोरेसनले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएका हुन् ।

नजिकिएका ठूला चाडपर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार तथा छठपर्वमा उपभोग्य वस्तु अभाव नहोस् भन्ने उद्देश्यले सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गरेका हुन् ।

आवश्यक परे थप स्थानमा समेत शाखा विस्तार गर्ने सरकारको योजना छ । खाद्य व्यापार कम्पनीले सहुलियत मूल्य पसलमा तोरीको तेल, सनफ्लावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ । सिमी भटमासको तेल, चामल र जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणलाई अखाद्य वस्तु र अनियन्त्रित मूल्यबाट जोगाउन देशभर सुपथ मूल्य पसल सञ्चालन गरिएको बताइएको छ ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण भैरहेको छ । अनलाइन सेवाबाट समेत खाद्य वस्तुमा छुट दिई निशुल्क होम डेलिभरीको व्यवस्था मिलाएको छ । उपभोक्ता पनि यस किसिमको पसलले आफूहरूलाई सहज भएको बताउँछन् । कतिपय उपभोक्ता भने सरकारले यति सुविधा दिएपछि सबैलाई उपलब्ध गराउने तरिकाले शाखा विस्तार गर्नुपर्ने बताउँछन् ।

सुपथ मूल्यका पसलबाट विक्री गर्न खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुई हजार खसी–बोका खरिद गर्ने प्रक्रिया सुरू गरिसकेको छ। कप्पनीका अनुसार देशका मुख्य शहरमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । निम्न आय भएका उपभोक्तालाई लक्ष्य गरी देशभर यस किसिमका पसल सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ ।