राजनीति

‘बजेट होलिडे’ : के,किन र कसरी


काठमाडौँ – पुरानो सरकारले ल्याएको बजेटमा संशोधन गर्न नयाँ सरकारले भदौ २५ मा ल्याएको प्रतिस्थापन गर्ने विधेयक संसदमा दर्ता गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण सरकारको प्रतिस्थापन विधेयक अघि बढ्न सकेको छैन । संसदमा पेश भएको बजेट ६० दिनभित्र पास भएर राष्ट्रपतिबाट प्रमाणिकरणसमेत भइसक्नु पर्छ । त्यो ६० औं दिन भदौं ३० गते पूरा भएको छ । अर्थात बजेट प्रस्तुत त भयो, तर संसदबाट पास हुन सकेन । यो घटनासँगै अब सरकारले सरकारी ढुकुटीको पैशा खर्च गर्न सक्दैन ।

संसदमा एमालेको अवरोध कायमै छ । उसका एजेन्डा वा मागहरु पनि यथावत नै छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो १४ सांसदहरुलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नभएसम्म संसद चल्न नदिने अडान लिएका छन् । एकातिर संसद चलाउनै पर्ने बाध्यता, अर्कोतिर नेकपा एमालेले थापेको तुरुपबीच संसदको अवरोध कसरी हट्ला भन्ने चासो सबैतिर छ ।

अर्थमन्त्री जनार्दन शर्माले एमालेसँग सहमति कायम गरेर बजेट पास गर्ने पहिलो प्रयत्न हुने बताएका छन् । त्यो प्रयास सफल भएन भने प्रक्रियागत रुपमा बजेटको काम अघि बढ्ने उल्लेख गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट अग्नीप्रसाद सापकोटा सभामुख भएको यो अनुकुल समयमा सरकार पेलपाल गरेरै भए पनि संसदबाट बजेट प्रतिस्थापन गर्न बनेको विधेयक पास गर्ने मुडमा देखिएको छ ।