राजनीति

समयमै प्रतिस्थापन विधेयक पारित नहुँदा बजेट होलिडेको स्थिति बन्यो


काठमाडौँ – समयमै प्रतिस्थापन विधेयक पारित नहुँदा बजेट होलिडेको अवस्था आएको छ । सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच राजनीतिक संघर्ष चलिरहेका बेला त्यसको प्रत्यक्ष मार देशको बजेटमा परेको छ । एकले अर्कोलाई दोष लगाउँदै उम्कने प्रयास गरिरहेका छन् ।

सत्ता गठबन्धनका नेताहरु एमालेले संसद अवरोध गरेका कारण बजेट पास गर्न नसकेको बताउछन् । एमालेले भने सरकारले बजेटलाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको बताएको छ । संसदबाट बजेट पारित नहुदा सरकारले राजश्व उठाउन पाउने भएपनि खर्च भने रोकिने अवस्था आएको छ । प्रतिस्थापन विधेयक भदौ ३० गतेभित्र संसदबाट पारित गरिसक्नुपर्नेमा सभामुखले असोज ४ गते मंगलबारका लागि प्रतिनिधिसभाको बैठक बोलाउनुभएको छ । असोज ४ गते प्रतिनिधि सभा र असोज ५ गते राष्ट्रिय सभाबाट विधेयक पास गर्ने र तुरुन्तै राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने तयारी रहेको छ ।