कोरोना विशेष

कोरोना खोपको प्रतिक्षामा नागरिक, खोप आयातमा सरकारी योजना फितलो (भिडियोसहित)


कामाठमाडौँ – केहि दिन यता उपत्यकामा आम सर्वसाधरणका लागि कोरोनाविरुद्धको खोप सेवा बन्द छ । खोप अभावका कारण अति आवश्यक बाहेक अन्यका लागि खोप वितरण रोकिएको हो । सरकारले विहिबार ४५ लाखको हाराहारीमा चीनबाट थप खोप आउने जनाएको छ । थप खोप भित्रिनासाथ यहि हप्ताभित्र आम सर्वसाधरणका लागि पुनः खोप सेवा सुचारु हुने बताइएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गए पनि कोरोनाको जोखिम उस्तै छ । सर्वसाधरणलाई स्वास्थ्य सर्तकता अपनाउन स्वास्थ्य विज्ञहरुको अपिल छ । सरकारले छिटो भन्दा छिटो सम्पूर्ण सर्वसाधरणलाई खोप उपलब्ध गराउन अनुरोध समेत गर्दै आएका छन ।

केहि दिनदेखि उपत्यकासँगै देशका अधिकांश क्षेत्रमा कोरोना विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं उपत्यकासहित अन्य जिल्लामा समेत एक हप्तादेखि आम सर्वसाधरणका लागि कोरोना विरुद्धको खोप सेवा बन्द भएको स्वास्थ्य कार्यलय काठमाडौले जनाएको छ । तत्कालका लागि खोप अभाव भएकाले ठूलो संख्यामा खोप वितरण कार्य रोकिए पनि वैदेशिक रोजगारीमा जाने, अध्ययनका लागि अन्य मुलुक जाने र अतिआवश्यक परेकाहरुका लागि भने खोप सेवा निरन्तर रहेको स्वास्थ्य कार्यलय काठमाडौका प्रमुख बद्री बहादुर खडकाले जानकारी दिए । यो सेवा नेपाली सेनाको अस्पतालबाट उपलब्ध गराईरहेको उनले बताए ।

यता स्वास्थ्य सेवा विभाग भने खोप अभियान खोप अभावकै कारण रोकिएको जानकारी नआएको बताउँछ । उपत्यकामा नै खोप अभावका कारणसर्वसाधरणले खोप नपाएको साता दिन भयो तर खोप अभाव भएको खबर विभागमा अझै पुगेको छैन । केन्द्रिय खोप स्टोरबाट माग अनुसार नियमित रुपमा खोप उपलब्ध गराईरहेको विभागको दावी छ । चीनबाट विहीबार ४५ लाख बराबरको भेरोसिल खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसार खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत झन्डै एक करोड ३० लाख खोप नेपाल आइसकेको छ । उपलब्ध खोपबाट मंगलबारसम्म एक करोड ११ लाख २० हजार बढी सर्वसाधरणले खोप लगाईसकेको छन । जसमध्ये कुल जनसंख्याको १९ प्रतिशले पहिलो डोज र १७ प्रतिशतले दोस्रो डोज खोप लगाईसकेका छन । सरकारले आगामी चैत्रभित्र सबै नागरिकलाई खोप दिईसक्ने अठोट लिएको छ । यो अठोटलाई मूर्तरुप दिन सरकारले खोप खरिदकै लागि पनि कुटनीतिक प्रयासमा तदारुकता देखाउन आवश्यक छ ।