देश

दैलेखका शिक्षकको हत्या अभियोगमा प्रहरीद्वारा एक महिला पक्राउ


काठमाडौँ – दैलेखका शिक्षकको हत्या अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुराँस गाउँपालिका ८ छोटेपोखराका ४२ वर्षीय शिक्षक नगेन्द्रकुमार बि.सीको हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनी मालिका माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला अगाडि बरन्डामा मृत भेटिएका थिए । उनी सोही विद्यालयका राहत शिक्षक हुन् ।

पक्राउ परेकी महिलाले हत्या गरेको स्वीकार गरेको दैलेख प्रहरीले जानकारी दिएको छ । व्यक्तिगत रिसिबीका कारण उनले राति साढे १ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । पीडित पक्षबाट जाहेरी लिएर उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको दैलेखका प्रहरी प्रमुख अनुपराज श्रेष्ठले बताए ।