राजनीति

प्रतिस्थापन बजेट पास नहुँदा आजरातिदेखि सरकारको नियमित खर्च रोकिने


काठमाडौँ – प्रतिस्थापन बजेट पास नहुँदा आजरातिदेखि सरकारको नियमित खर्च रोकिने भएको छ । प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि नेपालको इतिहासमै पहिलोपटक बजेट होलिडेको अवस्था सिर्जना हुन लागेको हो ।

नयाँ गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट बनाएको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन नगरेको भए पनि आजरातिदेखि निस्कृय हुने थियो । अध्यादेश पनि निस्कृय भएको र नयाँ विधेयक पनि पारित नभएको स्थितिमा अब बजेट खर्च रोकिने अवस्था आएको छ । राजस्वमा भने पुरानै दर लागु हुने छ । प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याए पनि पास गर्ने समय नपुग्दा बजेट खर्च रोकिएको हो ।

प्रतिनिधिसभाको बैठक असोज ४ गतेका लागि बोलाइएको छ । सरकारले प्रक्रिया पूरा गरेर बजेट ल्याउन खोजेको थियो । तर, प्रतिनिधिसभामा एमालेले निरन्तर अवरोध गरेपछि नयाँ सरकारले ल्याएको प्रतिस्थापन विधेयक पास हुन सकेन । यसको असर बजेट खर्चमा देखिएको छ ।