काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । घरेलु टोली ओमानसँग नेपाल ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको योगदान दिएका थिए । यससँगै ओमानविरुद्ध नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । लिग–२ अन्तर्गत नै सन् २०२० को फेब्रुअरीमा नेपाल घरेलु मैदानमा ओमानसँग दुई खेलमा पराजित भएको थियो ।
जारी सिरिजको पहिलो खेलमा भने नेपालले अमेरिकालाई पाँच वीकेटले हराएको थियो । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै ओमानसँग आगामी आइतबार खेल्नेछ ।
प्रतिक्रिया