राजनीति

फेरि पनि अवरोधमै सकियो संसद् बैठक, यस्ता छन् एमालेले दिएको दुई विकल्प


काठमाडौँ – सभामुख र प्रमुख प्रतिपक्षबीच चुलिएको मतभेदले प्रतिनिधिसभाको आजको बैठक पनि अवरोधमै सकिएको छ । न सभामुख प्रतिपक्षलाई सम्बोधन गरेर अघि बढीरहेका छन्, न प्रतिपक्षले संसद् चल्न दिने मनशायमा छ, बरु दुई कठिन विकल्प अघि सारेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद् चलाउनै कठिन बन्दै गएपछि सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सवर्दलीय बैठक आह्वान गरेका थिए । तर जसका कारण सर्वदलीय बैठक बस्यो, उ नै सहभागि नभएपछि ‘सभामुखको लगानी वालुवामा पानी’ बन्यो । संसद् चलाउनका लागि एमालेबाट कारबाही सिफारिसमा परेका १४ सांसद्लाई पद गएको सुचना टाँस वा सभामुखबाट सापकोटाको राजीनामा हुनुपर्ने अडान राख्दै आएका एमाले सांसद्ले यसैकारण मंगलबारको संसद् पनि अवरोध गरे ।

भदौ २३ मा नवौं अधिवेशन शुरु भएर मंगलबारसम्म आईपुग्दा चारपटक बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेका कारण निरन्तर अवरुद्ध हुँदै आएको छ । सभामुखले विवाद समाधानका लागि सर्वदलीय बैठक बोलाए पनि एमाले उपस्थिति नभएपछि संसद् मुडभेडमा केन्द्रीत बनेको हो । तर सत्तापक्षले प्रतिपक्ष पनि अभिन्न अंग हो भन्ने ढंग नपु¥याएपछि संसद् अवरुद्ध कायमै रहने एमाले नेताहरु बताउँछन् । सभामुख निष्पक्ष नभएको भन्दै यसमा छलफल आवश्यक नभएको उनीहरु बताउँछन् ।

एमाले अवरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । र त्यसलाई बहुमतले स्वीकृत पनि गरेको छ । तर संसद् अवरोधकै कारण बजेटको प्रतिस्थापन विधेयक टुंगो नलागेपछि बुधबारबाट सरकारी खर्च गर्ने बाटो भने बन्द भएको छ । यसअघि ल्याएको बजेट अध्यादेश संसद् चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान छ । ६० दिनको समय बुधबार सकिँदैछ ।

सभामुखले निकासका लागि बोलाएको सर्वदलीय बैठकमा एमाले नै अनुपस्थित भएपछि अब गाँठो फुकाउन तेस्रो पक्षले मध्यस्थता गर्नुपर्ने पूर्व सभामुखहरुको भनाई छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नै उपयुक्त पात्र हुने उनीहरु बताउँछन् । नत्र संसद् यहीँ हविगतमा अघि बढे प्रतिनिधिसभा विघटन भएर मुलुक निर्वाचनमा जानेसम्मको आँकलन उनीहरुको छ ।

संसदीय अभ्यासमा पहिलो पटक प्रमुख प्रतिपक्षको निशानामा सरकारको साटो सभामुख परेका छन् । यसलाई कतिपयले सभामुख सापकोटाको पक्षपाती व्यवहारका रुपमा बुझिरहेका छन् । तर एमाले पनि आफ्नै अडानमा कायम रहने र सभामुख पनि सत्ताको आड भरोशामा पेलेरै संसद् चलाउने अभ्यासमा गए त्यो संसदीय व्यवस्थामाथिकै मजाक हुनेछ ।