राजनीति

प्रतिनिधिसभा बैठकअघि एमालेसँग वार्ता गर्दै सभामुख


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मंगलबार बस्न लागेको प्रतिनिधिसभा बैठकअघि संवाद गर्ने भएका छन् ।

सोमबार बोलाएको सर्वदलीय बैठकलाई बहिष्कार गरेको एमालेसँग सभामुख सापकोटाले संवाद अघि बढाउने भएका हुन् । सोमबार एमाले प्रमुख सचेतक विशाल भट्टराईसँग भेट्न अस्वीकार गरेका सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकअघि एमालेसँग संवादको प्रयत्न गर्ने भएका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार एमालेसँग संवाद पहल भइरहेको छ। उनका अनुसार सोमबार पनि बैठकमा बोलाउन एमाले दलका नेता केपी शर्मा ओलीसँग सम्पर्क गर्न खोजे पनि सम्भव भएको थिएन।

‘प्रतिपक्ष दल एमालेको समस्या हल गर्न सभामुखले सोमबार सर्वदलीय बैठक आह्वान गर्नु भएको थियो। तर, उहाँहरू उपस्थित हुनु भएन्,’ न्यौपानेले भने, ‘अझै पनि सभामुख प्रतिपक्षसँग संवादका लागि प्रयत्नरत हुनुहुन्छ, संसदलाई प्रभावकारी बनाउन सबै दलसँग उहाँले संवाद गरिरहनुभएको छ ।’