काठमाडौँ – गण्डकीको प्रदेशसभा बैठक आज मंगलबार बस्दै छ । ३० असारमा प्रमुख प्रतिपक्षीको विरोधका बीच मार्सल लगाएर बजेट पास भएपछि स्थगित सदन मंगलबारबाट सुरु हुन लागेको हो ।
संसद् सचिवालयमा पाँच वटा विधेयक दर्ता भएका छन् । एउटा विधेयक सामान्य छलफलपछि दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको छ भने चार वटा विधेयक मंगलबारको बैठकमा ‘टेबुल’ हुने छ । आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक संसदमा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।
आज दुई समितिमा सभापति चयन हुने
मंगलबारको बैठकले दुईवटा समितिको सभापति चयन गर्ने छ । प्रतिपक्षी सत्ता र सत्तापक्ष प्रतिपक्षी बनेपछि समिति पनि हेरफेर हुन लागेको हो । तत्कालीन सत्तापक्ष एमालेले सम्हाल्दै आएको विधायन समितिको सभापति अब कांग्रेसले पाउने छ भने तत्कालीन प्रतिपक्षी कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समिति एमालेले पाउने छ ।
स्रोतकाअनुसार कांग्रेसबाट विष्णुप्रसाद लामिछाने विधायन समितिको सभापति बन्नेछन् भने लेखा समिति सभापति एमाले सांसद रोशन गाहा थापालाई बनाउन लागिएको छ । दुवै नवलपुरका हुन् ।
प्रतिक्रिया