राजनीति

एमसीसी संसद्मा पेश गरिए धुलोपिठो बनाउने विप्लवको चेतावनीे (भिडियोसहित)


काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी लागू खोजेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रतामा कुनै पनि हालतमा आँच आउन नदिने नेताहरुले बताए । नेपालमा यतिखेर अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध चर्को विरोध प्रदर्शन भइरहेको छ । एमसीसी विरुद्धमा आमजनमास सडकमा उत्रिरहेको बेला नै एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली नेपाल आएर फर्किसकेको छ ।

फतिमाको टोलीले प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूकै घरदैलोमा पुगेर एमसीसी सम्झौता पारित गर्न आग्रह गर्ने र दबाब दिने काम गरेपछि एमसीसीविरुद्धको आवाज झनै बुलन्द हुन थालेको छ । सोमबार एमसीसी सम्झौताको विरोधमा विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी भएका नेताहरुले एमसीसी नेपालको राष्ट्रिय हित विरुद्ध रहेकोले कुनै पनि हालतमा पास गर्न नदिने बताए ।

अधिकांश दलहरुले राष्ट्रहितमा नभएको भन्दै संसोधन गर्नुपर्ने र कतिपयले खारेज नै गर्नुपर्ने सम्मको अडान लिइरहेका बेला काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री मात्रै हुँबहुँ पास गर्ने मत राख्दै आएका छन् । तर देउवाले चाहेरमात्रै एमसीसी लागु हुनेछैन । एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा पास गर्न खोजियो भने देशमा रगतको खोला बग्ने प्रदर्शनमा सहभागीहरुले चेतावनी दिएका छन् ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।