राजनीति

एमालेको अडानकाबीच केही लागेन सभामुख र सत्तापक्षको, सर्वदलीय बैठक निष्कर्षविहिन (भिडियोसहित)


काठमाडौँ – अवरुद्ध संसद् बैठकलाई निरन्तरता दिन राष्ट्रिय सहमति जुटाउने उद्देश्यले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै उपस्थित नभएपछि परिणाममुखि हुन सकेन । संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकमा एमालेबाहेकका दलहरुले राष्ट्रिय सहमतिमार्फत जारी गतिरोध अन्य गर्नुपर्नेमा जोड दिएका थिए ।

संसदको नवौँ अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेपछि त्यसको निकासको लागि छलफल गर्ने भन्दै प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सोपकोटाले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरुले जारी राजनीतिक गतिरोध अन्त्यको लागि राष्ट्रिय सहमतिमा जोड दिएका छन् । तर सभामुखले निष्पक्ष काम नगरेको आरोप लगाउँदै आएको एमाले नै बैठकमा उपस्थित नभएपछि बैठक परिणममुखि हुन सकेन । सभामुख सापकोटाले आफूले कारवाही गरेका १४ जनाको नाम सार्वजनिक नगरेसम्म उनले बोलाएको कुनै बैठकमा सहभागि पनि नहुने र संसद चल्न पनि नदिइने एमालेको अडान रहेको छ ।

एमालेसँगै सहमति जुटाउने उद्देश्यले बोलाईएको बैठकमा उ नै उपस्थित नभएपछि जस्को विए उसैलाई नल्या भनेजस्तो भयो । एमालेबाहेकका दलहरुले संसदमा जारी गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा केन्द्रित रहेर छलफल गरेपनि कुनै निष्कर्ष निष्कन सकेन ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सम्बन्धित पक्ष नै बैठकमा उपस्थित नभएकोल बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको बताइन् । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन दलका नेताहरुले सभामुखलाई सुझाव दिएको उनले बताइन् । बैठकमा सभामुख सापकोटाले एमालेलाई बैठकमा बोलाउन भरपूर प्रयास गरेको भएपनि सफल नभएको बताएका थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलगायत सहभागी थिए । उनीहरुले राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिँदै सभामुखलाई प्रतिपक्षसँग निर्णयक वार्ता गर्न सुझाव दिएका छन् ।