राजनीति

संवैधानिक नियुक्तिसम्बन्धी रिटको तत्काल सुनुवाइ गर्न अधिवक्ता अर्यालले दिए पूरक निवेदन


काठमाडौँ – संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको तत्काल सुनुवाइको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनुभएको छ । संवैधानिक इजलासमा सुनुवाइ तोकिएको अर्यालको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि रोकिएको थियो ।

सो इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ रोकिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

अधिवक्ता अर्यालले आफूले दिएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी निरन्तर सुनुवाइमा राख्न आदेश माग गर्नुभएको छ ।