राजनीति

सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै


काठमाडौँ – संसद् अवरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले आज दिउँसो साढे दुई बजेका लागि बैठक बोलाउनुभएको हो ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गर्नुभएको छ ।