राजनीति

वार्तामा आउन एमालेलाई गृहमन्त्री खाणको आग्रह


काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०लाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई सञ्चारकर्मीमार्फत् आग्रह गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ ।


काग्रेस नेता समेत रहेका गृहमन्त्री खाणले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गरे । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार (भोलि) दिउँसो प्रमुख दलका शिर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाएको जानकारी दिए। गृहमन्त्री खाणले भोलि बस्ने सो बैठकले संसदमा देखिएका सबै समस्या समाधान हुने अपेक्षा समेत गरे ।

उनले भने, ‘म आग्रह गर्नु चाहन्छु, भएका मतभेदहरुलाई सुल्झाएर जाऊँ । संवाद, छलफल र वार्ताको माध्यामबाट हामीले ठूल्ठूला समस्याहरुलाई सम्बोधन गरेका छौं । र अहिले संसदमा देखिएका समस्याहरुलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो। आज पनि सभामुखले बोलाउनु भयो र हाम्रो कानुनमन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमति जुट्न सकेको छैन। भोलि पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ। र विश्वास गरौं–भोलि समस्या समाधान हुन्छ ।’

सभामुख अग्नि सापकोटाले आइतबार पनि प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सूचारु गराउन आग्रह गरेका थिए ।