काठमाडौँ – क्रिष्टियानो रोनाल्डोले पुनरागमन गरेको खेलमा म्यानचेष्टर युनाईटेड विजयी भएको छ । इंग्लिस प्रिमियर लिग (ईपीएल) मा रोनाल्डोको दुई गोलको मद्दतमा युनाईटेडले न्यूक्यासलाई समग्रमा ४–१ गोल अन्तरले पराजित गरेको हो ।
हिजोराति भएको खेलमा रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै युनाईटेडलाई अग्रता दिएको थियो । पहिलो हाफमा एक गोलले अग्रता बनाएको युनाईटेड दोस्रोको ५६ औं मिनेटमा गोल खान पुग्यो । न्यु क्यासललाई ५६ औं मिनेटमा म्यान्कील्लोले खेलमा फर्काएको थियो । त्यसकोब ६ मिनेटपछि रोनाल्डोले नै गोल गर्दै पुन युनाईटेडलाई अग्रता दिलायो । ब्रुनो फेर्नान्डेसले ८० औं उत्कृष्ट गोल गर्दा परिवर्तित खेलाडी जेसी लिङ्गार्डले इन्जुरी समयमा थप एक गोल थप्दा युनाईटेड ४–१ ले विजयी भयो । जितसँगै चार खेल खेलेको युनार्इटेड १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
३६ वर्षका रोनाल्डोले युनाइटेडका लागि १२ वर्षपछि पुनरागमनसहित गोल गरेको हो । रोनाल्डोले आफू खेलअघि निकै नर्भस भएको र आफूले दुई गोल गर्ने अपेक्षा नगरेका पनि प्रतिक्रिया दिए । खेलपछि पत्रकारसँग कुरा गर्दै रोनाल्डोले युनाईटेडका प्रशंसकले आफूप्रति गरेको माया र सद्भावका लागि धन्यवाद पनि दिए ।
सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहँदा उनले २९२ खेलमा ११८ गोल गरेका थिए । उनले सन् २००९ मा युनाइटेड छोडेर रियल मड्रिडको यात्रा रोजेका थिए । त्यसपछिको १२ वर्षमा उनले रियल मड्रिड र युभेन्टसका लागि कुल ५५१ गोल गरेका छन् ।
प्रतिक्रिया