राजनीति

एमाले स्थायी कमिटीको बैठकले केके गर्याे निर्णय ?


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।

विधानको महाधिवेशनको लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ भने उक्त बैठकले विधान महाधिवेशमा प्रश्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरु स्थायी समितिको बैठकमा प्रश्तुत हुने र त्यसमाथि व्यपक छलफल गरेर मात्रै अघि बढ्ने पार्टीका सचिव योगेश भट्टराईले बताउनुभयो । सचिव भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने ऐन रहेपनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रिय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परिक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रिय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पखदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरुले भाग लिन पाउनेछन् ।

त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमसख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनितहरुले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताउनुभयो । योसहित करिव ३ हजार प्रतिनिधिहरुले भाग लिने उहाँले बताउनुभयो ।

नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले भोलि मध्यान्ह १२ बजे संसदीय दलको बैठक डाकेको सचिव भट्टराईले बताउनुभयो ।।