राजनीति

एमसीसीको झण्डा गाड्ने मिशन अपुरो,रित्तै फर्किने भइन् फतिमा सुमार


काठमाडौँ – एमसीसी परियोजना लागु गर्न चार दिने नेपाली बसाईमा रहेकी फतिमा सुमारका कारण नेपालको राजनीति तरंगित बनेको छ । तर दलहरुबीच एमसीसीलाई लिएर समान धारणा नआएपछि सुमार रित्तै फर्किनुपर्ने देखिएको छ ।

एमसीसी सम्झौता अनुमोदनको झण्डा गाड्न नेपालको चारदिने बसाईमा आएकी परियोजना उपाध्यक्ष फतिमा सुमारका लागि नेपाल मिशन अर्थ न व्यर्थको हुने पक्कापक्की जस्तै छ । निर्णायक वार्ताका लागि उच्च राजनीतिक नेतृत्वलाई दबाब दिन र शीघ्र सम्झौता लागु गर्ने उद्देश्यसहित नेपाल आएकी उनलाई दलहरुले अस्पष्ट जवाफ दिएपछि रित्तै फर्किनुपर्ने भएको हो ।

विहिबार नेपाल अवतरण गरेकी सुमारले भेटघाटको शुरुवात नै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गरेकी थिइन । तर यसअघि सरकारको नेतृत्व गर्दा एमसीसी कार्यान्वयन गर्ने आश्वासन दिएका ओलीले प्रमुख प्रतिपक्षमा पुगेपछि बोली फेरे । आफु सत्तामा हुँदा प्रयास गरेपनि अहिले प्रतिपक्षमा रहेको र सत्तापक्षले निर्णय गर्नुपर्ने ओलीको जवाफले सुमारलाई पोलेको थियो । एमालेभित्र एकपक्ष एमसीसीको विरोधमा रहेकाले ओलीले एमसीसीप्रतिको लगाव लुकाएका छन् ।

ओलीसंगको भेट सुमारलाई पहिलो गाँसमै ढुंगा बन्यो र उनी भर्खरैमात्र एमालेबाट विभाजित नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कहाँ पुगिन् ।नेपालले पनि राष्ट्रहितमा नभएका कुनै सम्झौतामा आफ्नो साथ नरहने ठाँडो जवाफ दिए, सुमार निराशा बनेर फर्किइन् । तर दुई भेटबाट निराश बनेकी सुमारलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसंगको भेटले राहत दियो । यी दुबै नेता एमसीसी पास गर्नुपर्ने पक्षमा आफु रहेपनि प्रमुख दलहरुले सहमति गर्नुपर्ने जवाफ दिएका थिए ।

शुक्रबार विहानैबाट पुनः राजनीतिक भेटवार्तालाई निरन्तरता दिएकी सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिन् । संसद्बाट पास गर्न नसकिने घोषणा गरेका प्रचण्डले राष्ट्रिय सहमति चाहिने जवाफ दिए ।जुन प्रचण्डले यसअघि देखिनै बताउँदै आएका थिए । शिर्ष नेताहरुसंगको भेटवार्ता पछि शुक्रबार बेलुका वालुवाटार पुगेर सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेकी छन् ।

आफ्नै पूर्व कार्यकालमा सम्झौतामा हस्ताक्षर गराएका देउवाले राजनीतिकस्तरमा छलफल भइरहेको र एमसीसी लागु गर्ने आश्वासन दिएका थिए । सुमारले प्रधानमन्त्रीसंगको भेटमा एमसीसीबारे गलत प्रचार भएको भन्दै चित्त पनि दुखाएकी थिइन । तर सत्तागठबन्धन र सत्ताबाहिरका दलहरुले उपाध्यक्ष सुमारलाई फरक फरक धारणा दिदाँ सुमार निर्धक्क नभएरै फर्किनुपर्ने भएको छ ।

अधिकांश दल राष्ट्रहितमा नभएको भन्दै संसोधन गर्नुपर्ने र कतिपयले खारेज नै गर्नुपर्ने भन्नेसम्मको अडान लिइरहेका बेला काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री मात्रै हुँबहुँ पास गर्ने मत राख्दै आएका छन् । तर देउवाले चाहेरमात्रै एमसीसी लागु हुनेछैन । अब अमेरिका कि संसोधन गर्न तयार हुनुपर्नेछ, कि सम्झौता फिर्ता लिनुपर्नेछ । नेताहरुसंगको भेटमा सुमारले लागु नगर्ने भए अर्काे मुलुकमा सम्झौता लैजाने चेतावनीसहितको आग्रह गरेकी थिइन । तर नेपालप्रतिको अमेरिकी चासो बढ्दै गएको र चीनसंग प्रतिवाद गर्न नेपाल एकमात्र उपयुक्त भूमि भएकाले संसोधन गरेरै भएपनिएमसीसी लागु गर्नखोज्ने विश्लेषण गरिएको छ । यद्यपी सुमारले नेपालका नेताहरुलाई यथाशिघ्र सम्झौताबारे निर्णय लिनुपर्ने सन्देश दिएकी छन् ।