राजनीति

सभामुखको गुरिल्ला स्टाइल भन्दै एमाले नेता जंगिए


काठमाडौँ – एमाले विभाजनमा सत्तापक्ष र सभामुखले षड्यन्त्र गरेको निष्कर्षसहित प्रमुख प्रतिपक्ष दलले संसद्लाई बन्धक बनाउने रणनीति लिएको छ । तर, विपक्षीको अवरोधलाई छिचोल्दै सभामुखले कामकारबाही अगाडि बढाइरहेका छन् । जसले थप समस्या निम्त्याउने विश्लेषण भैरहेको छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नेतृत्वमा आउनु अघि लाग्थ्यो रे, ‘नेकपा एमाले प्रतिपक्ष रहेका बेला सरकार चलाउनै मुस्किल पर्छ’ । यसैकारण धेरै पटक उनले प्रधानमन्त्रीको प्रस्तावलाई समेत अस्विकार गरेको चर्चा उनी निकट नेताहरुले गर्थे । अन्तः गठबन्धनको दबाब र प्रभावमा देउवा प्रधानमन्त्री त भए, तर अहिले एमालेका कारण सरकार र संसद् चलाउनै कठिन भएको छ । यसअघि धेरैपटक संसद्को प्रतिपक्षको रहेको एमाले अहिले पनि आफुलाई प्रतिपक्षको बादशाह ठान्छ । त्यसैले संसद् अवरुद्ध गर्नु, माइक थुतेर सभामुखको टाउको फुटाउन खोज्नु, संसद्मै एकमाथि अर्काे चढेर चचहुँई गर्नु एमालेका लागि सामान्य बनेको छ । जुन हविगत शुक्रबारको प्रतिनिधिसभा बैठकमा छताछुल्ल भयो ।

सरकारको नेतृत्व देउवाले गरेपनि संसद्भित्रको लडाई प्रमुख प्रतिपक्ष दल एमाले र सत्ताधारी घटक माओवादी केन्द्रबीच चलिरहेको छ । प्रधानमन्त्री देउवा भने दुई पार्टीलाई भिडाएर रमिते बनेका छन् । यस्तो बेला निर्णायक भूमिका खेलेर सत्तापक्ष र प्रतिपक्षलाई मिलाउदै संसद् चलाउनु पर्ने जिम्मेवारीमा रहेका सभामुख अग्निप्रसाद सापकोटा भने राजनीतिक पार्टीसंग प्रतिशोध साँधेर माओवादी केन्द्रकै नेताको व्यवहार प्रदर्शन गरिरहेका छन् । शुक्रबारको बैठकमा समेत प्रतिपक्षको अवरोधकै बीच सभामुख पेलेरै अघि बढेपछि समस्या झन बल्झिएको छ । अब सापकोटा सभामुख भएको संसद् चल्न नदिने एमालेको दाबी छ ।

मुलतः सभामुख र एमालेबीचको प्रतिशोधकै कारण संसद् अवरुद्ध हुँदै आएको छ । भदौ १ मा एमालेले कारबाही सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले बचाएपछि संसद्लाई नै प्रभावहिन बनाउने गरि एमाले अघि बढेको हो । अहिले कि सभामुख कि संसद् भन्ने अडानमा एमाले रहँदा प्रतिपक्षसंग बलमिच्याईँ गर्दै संसद चलाउने मनशायमा सभामुख देखिन्छन् । यसले संसद्लाई अझै निष्प्रभावी बनाएको सत्तारुढ दलका नेताहरुको बुझाइ छ ।

सभामुखले चाहेको खण्डमा प्रतिपक्ष र सत्तापक्षसंग आवश्यक परामर्श गरि सदनलाई अगाडी बढाउने सुविधा थियो । तर पेलेरै भएपनि संसद् चलाउनुपर्छ भन्ने निष्कर्षमा सभामुख पुगेपछि एमालले संसदमा बबण्डर मच्चाइरहेको छ । यसको अर्थ संसद्लाई औचित्यविहिन बनाउनु खोज्नु पनि हो । यसअघि एमालेकै नेतृत्वमा दुई÷दुईपटक विघटन गरिएको संसद्लाई निष्प्रभावी देखाएर चुनावमै मुलुक गएपछि आफु सही देखिने मोहकै कारण एमालेले संसद् चल्न नदिने विश्लेषण भइरहेका छन् ।

एमालेको नाराबाजीकै बीच शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरेका छन् । जसलाई सरकारले भन्दा पनि माओवादी केन्द्रले ल्याएको अर्थमा एमालेले बुझिरहेको छ । यद्यपी आ–आफ्नो स्वार्थअनुसार संसद् चलाउन खोज्ने सत्तापक्ष र प्रतिपक्षको रणनीतिले देश नै बन्धक बनाइनु विडम्बपूर्ण छ ।