राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक २९ गते


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मंगलबार काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि, पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो ।

नेकपा एमालेबाट अलग भई हालै गठन भएको एकीकृत समाजवादीले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय संगठन निर्माण गरिरहेको छ । पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ ।