राजनीति

सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउदा संसदमा हंगामा (भिडियोसहित)


काठमाडौँ – सरकारले तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । यो ओली सरकारले ल्याएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को चर्को बिरोध र नाराबाजीकाबीच प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत भएको छ । अवरोधकै बीच सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक बजेट ल्याएको हो । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएका हुन् ।

अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार भने घटाइएको छ । कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ अर्थात ४१.५२ प्रतिशत, पुँजिगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ अर्थात २३.१६ प्रतिशत, वित्तिय व्यवस्था तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ अर्थात ११.६० प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ अर्थात २३.७२ प्रतिशत रहेको अर्थमन्त्री शर्माले जानकारी गराए ।

सरकारको उच्च प्राथमिकता कोभिड– १९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई पुर्नउत्थान गरी चलायमान बनाउने विषय रहेको उल्लेख गरेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन योग्य सबै नेपालीलाई यथाशक्य चाडो खोप उपलब्ध गराउन खोपको आपूर्तीको सुनिश्चिततासहित खोपको प्रवन्ध मिलाएको पनि सरकारले जनाएको छ ।

कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतको अतिरिक्त आन्तरिक स्रोत समेत सञ्चालन गर्ने प्रबन्ध गरेको बताए । चालु खर्च तर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी, तालिम खर्च, सिप विकास तथा जनचेतना तालिम सम्बन्धी खर्च कार्यक्रम, अनुगमन, मुल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरी यसरी खर्च कटौती गर्दा बचत हुने ५ अर्ब रुपैयाँ कोभिड–१९ को खोप खरिदको लागि उपयोग गरिने भएको छ ।

यस्तै सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीलाई औषधी उपचार खर्च बापत् मासिक ५ हजारको दरले उपलब्ध गराउने भएको छ । त्यस्तै राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत् मासिक ३ हजार प्रदान गर्ने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।

कोभिाड – १९ बाट प्रभावित रोजगारी र आयआर्जन गुमाएका अनौपचारीक एवं असंगठित क्षेत्रमा रहेका करिब ५ लाख परिवारलाई राहत स्वरुप १ पटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा यही असोज महिनाभित्र स्थानीय तहको समन्वयमा नगद अनुदान प्रदान गरिने पनि भएको छ । त्यस्तै शहरी विपन्न नागरिकहरुको लागि सामाजिक संस्थाको सहकार्यमा कामाठमाडौं उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ रुपमा खानाको व्यवस्था गरिने पनि भएको छ ।