राजनीति

अधिवेशन धाँधलीरहित र निष्पक्ष बनाउन सभापति देउवासँग पौडल पक्षको माग


काठमाडौँ – विवादैकाबीच सुरु भएको डडेलधुराका स्थानीय तहमा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीरहित गराउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनीहरुले आज बिहान सभापति देउवालाई बालुवाटारमा भेटी अधिवेशन धाँधलीरहित र निष्पक्ष बनाउन सभापति देउवासँग माग गरेका हुन् ।

डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नगरी आज वडा अधिवेशन गर्न लागेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले देउवालाई भेटी ध्यानाकर्षण गराएका छन् ।

जिल्ला कार्यसमितिले यही भदौ २२ गते नै फर्जी क्रियाशील सदस्यबाट अधिवेशन सम्भव नहुने भन्दै जिल्ला अधिवेशन स्थगित गरेको थियो । तर सभापति देउवा पक्षले बागी उम्मेदवारहरूको मात्र क्रियाशील सदस्यता हटाइएको बताउने गरेको छ। सभापति देउवाको गृहजिल्लामा आज वडा अधिवेशन गर्ने तयारी छ।

यता वरिष्ठ नेता पौडेल पक्षका जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले भने निर्वाचनमा भाग नलिने बताइरहेका छन्। तलबाट पठाइएका क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाट सभापति देउवा पक्षले आफूखुसी क्रियाशील सदस्य थप गरेको विरोधमा डडल्धुरा कांग्रेस कार्यसमितिले विरोध गरेको छ।