राजनीति

राजतन्त्रको शैलीमा डडेलधुरामा वडा अधिवेशन सुरु


काठमाडौँ – स्थगित भएको डडेलधुराका स्थानीय तहको नेपाली कांगेसको वडा अधिवेशन विवादकै बीच पनि सुरु गरिएको छ । आज बिहान देखि जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले वडा अधिवेशनको प्रक्रिया सुरु गरेको हो ।

अधिकृत बमको अनुसार क्रियाशील सदस्यहरुले उत्साहका साथ अधिवेशनमा सहभागिता जनाइरहेका छन् । डडेलधुरामा कुन वडामा निर्वाचन सुरु भयो कुनमा बाँकी छ भन्ने खबर भने अहिले नै भन्न सकिने अवस्था छैन । यस सम्बन्धि मध्याह्नपछि मात्रै थाहा हुने उनको भनाई छ ।

तर, जिल्लाका सभापति कर्ण मल्लले भने निर्वाचन सम्बन्धि आफूहरुको कुनै पनि सहमति नभएको उल्लेख गरेको छ । उनले जिल्लामा राजतन्त्रको शासन सुरु भएको बताए । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादूर देउवाले ज्ञानेन्द्रको शासन लगाएको आरोप लगाएका छन् । “हाम्रा प्रधानमन्त्री श्रद्धेय सभापति शेरबहादुर देउवाबाट ज्ञानेन्द्र शासन सुरु भयो, प्रहरी लगाएर पार्टीको महाधिवेशन गराउने प्रयत्न हुँदै छ, हामी त्यसमा सहभागी छैनौँ ।”

मल्लले अहिलेसम्म निर्वाचन सम्बन्धि कुनै सूचना नै नगरिएको र विनासूचना वडा अधिवेशन कसरी सम्पन्न हुँदोरहेछ हेर्ने बताएका छन् । यस्तो कार्यशैलीले सभापति देउवा आफैँ जिल्लाको गुटगत राजनीतिमा आएको स्प्रष्ट भएको उनको बुझाई छ । जिल्ला कार्यसमितिले यही भदौ २२ गते नै फर्जी क्रियाशील सदस्यबाट अधिवेशन सम्भव नहुने भन्दै जिल्ला अधिवेशन स्थगित गरेको थियो ।