राजनीति

प्रचण्ड र फातिमाबीच एक घण्टा लामो भेटवार्ता,राष्ट्रिय सहमति गरेर अघि बढ्न सकिने भनाई


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली खुमलटार पुगेका छन् । शुक्रबार बिहान खुमलटार पुगेकी उपाध्यक्ष सुमारसहितको टोली र प्रचण्डबीच करिब एक घण्टा कुराकानी भएको छ ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नु पर्ने बताएका छन् । उनले नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका हुन् । उपाध्यक्ष सुमारले भने आफूहरु नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताए । र, साथै यस विषयमा सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको धारणा राखिन् ।

बिहीबार नेपाल आएलगत्तै सुमारले राजनीतिक भेटवार्ता जारी राखेकी छिन् । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता सुरु गरेकी उनले बिहीबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग छलफल गरेकी थिइन् ।
उनले आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।