समाचार

पशुपतिमा तीजको रमझम, दर्शनार्थीलाई रोकेन मन्दिर बन्दले (भिडियोसहित)


काठमाडौँ – हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व हरितालिका तीज आज हर्षोल्लासका साथ देशभर मनाएको छ । काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । कोरोना भाइरसको जोखिमका कारण पशुपतिको मुख्य मन्दिरको ढोका बन्द गरिएपनि व्रतालु महिलाहरुले बाहिरैबाट नै महादेवको पूजाआराधना गरिरहेका छन् ।

आज नेपाली हिन्दु महिलाको महत्त्वपूर्ण पर्व हरितालिका तीज आर्थत् अटल सौभाग्यको कामना गर्दै व्रत बस्ने दिन । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालुहरु रातो सारीमा सजिएर पूजाका लागि पुगेका थिए । कोरोना भाइरसको जोखिमका कारण मुख्य मन्दिरको ढोका बन्द गरिएपनि व्रतालुहरुले पशुपति मन्दिरको गेटबाट नै महादेवको पूजाआराधना गरेका छन् । त्यहाँ दर्शनार्थीहरुले मन्दिर तथा शिवालयमा भेला भएर शिवको पूजा गर्दै नाचगान समेत गरेका छन् ।

दिनमा निर्जल व्रत बसी पार्वती र महादेवको पूजा अर्चना गरेमा मनोकांक्षाहरु पूरा हुने धार्मिक मान्यता रहि आएको छ । विवाहीत महिलाले आज आफू र श्रीमानको दीर्घायूको कामनासहित व्रत बस्ने गर्दछन् भने अविवाहीत महिलाले महादेव जस्तै सुन्दर र हरेक कुरामा साथ दिने सुशील श्रीमान पाउने मनोकामनासहित व्रत बस्ने गर्दछन् ।

आजका दिन महिलाहरुले बिहानै उठेर नजिकै रहेको गंगा, नदी, तलाउ, पोखरी वा कुवा र धारामा गएर स्नान गरी शुद्ध भइ शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन । आज देशभरका शिवालयमा भक्तालुहरुको घुइचो छ । कतिपय दर्शनाथीले भने पशुपति मन्दिर आज खोल्नु पर्ने गुनासो गरे ।

सत्ययुगमा भाद्र शुक्ल तृतीयाकै दिन देवी पार्वतीले महादेवको व्रत बसी श्री महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बसे सम्पूर्ण मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।