राजनीति

नेताहरुमा खैलाबैला : फतिमा सुमार आएपछि एमसीसी पास होला त ? (भिडियोसहित)


काठमाडौँ – एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल अवतरण गरेसंगै राजनीतिक दलमा तरंग पैदा भएको छ । एमसीसी पास गर्न हुने र नहुने मत बाँझिएका बेला नेपाल आएको सुमारको टोलीले अबको चारदिन हरसम्भव प्रयास गर्ने भएको छ ।

नेपाली राजनीतिको भविष्य बोकेरकतार एयरवेजमार्फत उडान भरेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार विहिबार विहानको ९ः२५ बजे काठमाडौंमा अवतरण भइन् । उपाध्यक्ष सुमारसहित एमसीसीका सहायक उपाध्यक्ष जोनाथान ब्रुक्स पनि काठमाडौं उत्रिएका छन् ।चारदिनका लागि काडमाडौंमा उत्रिएकी सुमारको नेपाल बसाईले नै नेपाली राजनीतिलाई डो¥याउने पक्कापक्की बनेको छ ।

एमसीसी सम्झौतालाई लिएर राजनीतिक दलहरु पक्ष विपक्षमा विभाजन भइरहेका बेला सुमारको नेपाल आगमनले थप तरङग पैदा गरेको छ ।नेपाल भित्रिए लगत्तै अमेरिकी दूतावासमा पुगेर नेपाल मिशन शुरु गरेकी उपाध्यक्ष सुमारले भेटघाटको पहिलो रोजाई भने निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बनाईन् । बालकोटमा भएको करिब एक घण्टालामो भेटवार्तामा सुमारले एमसीसी पारितका लागि सघाउन ओलीसंग आग्रह गरिन् । ओलीले आफ्नो सरकार हुँदा एमसीसी पास गर्न खोजेपनि असफल रहेको जवाफ दिदै पहिला सत्तापक्षको धारणा आउनुपर्ने बताए ।

एमसीसी पारित गर्न सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीको जवाफ सुनेपछि बालकोटबाट निस्किएको सुमारको टोली होटल याक एण्ड यतिमा रहेको एमसीसीको नेपाल कार्यालयमा प्रस्थान गरेको थियो । यसअघि हरहालतमा एमसीसी पास हुनुपर्ने बताउँदै आएका एमाले अध्यक्ष ओली अहिले युटर्न गरेका छन् ।

बुधबारको संसदीय दलको बैठकले त एमसीसी राष्ट्रहितमा नभएको निष्कर्ष निकालेको थियो ।ओलीले एमसीसीको लफडाबाट बाहिरै रहने संकेत गरेका बेला सत्ताधारी गठबन्धनमा भने खटपट देखिन थालेको छ ।विहिबार प्रधानमन्त्री देउवाबाहेकका सत्ताघटकले छुट्टै छलफल चलाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्बाट पारित गर्न नसकिने दाबी गरेका छन् । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसोधन गर्नुपर्ने बताएका छन् ।

जबकि यसअघि नै संसोधन नहुने स्पष्ट पारेको एमसीसीले बुधबार सरकारलाई पठाएको स्पष्टिकरणमा समेत संसोधन नहुने बताएको छ । जसपा पनि एमसीसीको विपक्षमै रहेका बेला जनमोर्चाले एमसीसीको विरोधमा सडक संघर्ष थालेको छ । पाँच दलीय गठबन्धनको सरकारमा प्रधानमन्त्री देउवामात्रै हुबहु पास गर्नुपर्ने अडानमा छन् । सत्ताधारी गठबन्धनमा मात्रै मतभेद नभएर काँग्रेसभित्रै पनि फरक स्वर देखिएको छ ।

एमसीसी सम्झौता नेपाल भित्र्याउनुमा सबै पूर्वप्रधानमन्त्रीको उत्तिकै हात रहेको भन्दै यसको छिनोफानो लगाउने काम पनि उनीहरुकै भएको नेताहरु बताउन थालेका छन् ।२०७६ असार ३० गते संसदमा पेश भएको एमसीसी नेपालमा सबैभन्दा विवादित सम्झौता बन्दै गएको छ । यसलाई पास गराउनकै लागि सुमारको टोली नेपाल आएको हो ।तर ठुलो जनमत नै एमसीसीको विरोधमा छ ।

विहिबार पनि सुमार बालकोटबाट फर्किदै गर्दा कालो झण्डा देखाएर विरोध गर्ने करिब दुईदर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । यता जनलहर नै एमसीसीको विरुद्धमा रहेकाले यसलाई पास गर्न मद्दत गरे राजनीतिक भविष्य नै दाउमा पर्न सक्ने डर नेताहरुमा देखिन्छ । तर अझै चारदिनसम्म सुमारको टोली नेपालमै रहनेछ । नेपालमा ओलीसहित प्रधानमन्त्री देउवा र राजनीतिक दलका शिर्ष नेताहरुसंग उनीहरुको भेटघाट जारी छ र एमसीसी पास गर्न जोडबल गरिरहेका छन् ।

विहिबार नै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग समेत सुमारको भेटवार्ता भएको छ । चारदिनसम्म नेताहरुलाई भेट्ने कार्यतालिका लिएर नेपाल आएको उपाध्यक्ष सुमारको टोलीले नेपाली राजनीतिक दललाई कसरी प्रभावित पर्छ त्यसैले अवको राजनीतिक र एमसीसीको भविष्य निर्धारण गर्नेछ ।